नेता पुनको खुलासाः समाजवादी माेर्चाले १६५ क्षेत्रमै उम्मेदवारी दिने, कांग्रेससँग केही ठाउँमा तालमेल

काठमाडौं । वामपन्थी तथा समाजवादी शक्तिहरुबीच संयुक्त मोर्चाको चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी निर्वाचनमा वामपन्थी शक्तिहरुबीच एकता भइ बन्ने समाजवादी केन्द्रबाटै चुनाव लडिने खुलासा गरेका छन् ।

यसअघि शनिबार जनकपुर पुगेका नेकपा माओवादी अध्यक्ष प्रचण्डले तत्कालका लागि चुनावी मोर्चाको मोडालिटीमा छलफल भइरहेको बताएका थिए ।

नेता पुनका अनुसार, कांग्रेससँग भने सबै क्षेत्रमा गठबन्धन नहुने बर आवश्यकता अनुसार तालमेल हुनेछ । समाजवादी केन्द्रको निर्माणका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई तथा वामदेव गौतमले नेतृत्व गरेका समूहबीच छलफल चलिरहेको छ । यो छलफलमा उपेन्द्र यादव नेतृत्वको जसपा समेत रहेको छ ।

नेपालका वामपन्थी र वामपन्थी पृष्ठभूमि भएका दलहरुबीच एकता गर्दै समाजवादी केन्द्र निर्माणका लागि विगत केही समयदेखि सघन छलफल चलिरहेको छ ।

आज नेता पुनले भने नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन् ।

आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै तत्काल कुनै पार्टीसँग पनि एकता नहुने बताउँदै चार पार्टी मिलेर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको र चुनावमा मोर्चा बनाएर जाने बताए ।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं ।’ नेता पुनले भने ।

उनले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने समेत बताए ।

‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ नेता पुनले भने ।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले थपे, ‘एमाले कता जाने उसैले निर्णय गर्ला ।’ नेता पुनले भने ।

कमेन्ट गर्नुहोस्