दिल्ली सेक्स रेकेटको पर्दाफासः उज्बेकिस्तान र नाइजेरियाका युवतीहरु नेपाल हुँदै भारत पुर्‍याइने खुलासा

नयाँ दिल्ली । नयाँ दिल्ली प्रहरीले अन्तर्राष्ट्रिय सेक्स रेकेटको पर्दाफास गरेको छ ।

दिल्लीको मालवीय नगर क्षेत्रमा उज्बेकिस्तान र अन्य देशका युवतीहरुलाई ल्याएर हाइ प्रोफाइल सेक्समा लगाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार, यी युवतीहरुलाई जागिर दिने बहानामा नेपाल हुँदै भारत पुर्याइने गरिन्थ्यो । आकास मार्ग हुँदै नेपाल ल्याइने ती युवतीहरुलाई नेपाल भारत सीमा क्षेत्रमा भने बुर्का लगाएर पैदल नै सीमापार गरिने बताइन्छ ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरुबाट १८ वटा भिसासहितका पासपोर्ट फेला परेका छन् । उनीहरुमध्ये दशजनाविरुद्ध अवैध प्रवेश गरेको अपराधमा मुद्दा गरि तिहाड जेल पठाइएको छ ।

प्रहरीले यो कार्यमा सीमावर्ती क्षेत्रका केही नेपाली युवासमेत संलग्न रहेको आशंका गरेको छ । युवतीहरुलाई बुर्का लगाएर कच्ची सडकको बाटो हुँदै भारत पुर्याउने र भारत पुगेपछि अली शेर तिलदादेव (गिरोहको नेता)ले उनीहरुका पासपोर्ट संकलन गर्ने गरेको प्रहरीले जनाएको छ । यसरी पासपोर्ट जम्मा गरेपछि ती युवतीहरुले उक्त गिरोहलाई हिस्सा दिएर यौनधन्दा गर्दै आएको तर हिस्सा दिन आनाकानी गरेपछि उनीहरुमध्ये केहीलाई गिरोहबाट निकालिएको थियो । तर अली शेरले हिस्सा नदिएकाहरुको पासपोर्ट फिर्ता नगरी फेरी नेपाल नै पठाएको प्रहरीले जनाएका छ ।

हालसम्म १८ वटा भिसा लागेका पासपोर्ट फेला परेकोले प्रहरीले यो गिरोह अझै फैलिएको हुनसक्ने बताएको छ । हाल भने १० जनामाथि मात्रै कार्वाही अघि बढाइएको छ ।

गत डेढ वर्षयता नाइजेरिया र वरिपरिको देशका ८ सय भन्दा बढीको निर्वासनको आदेश प्रहरीले दिएको थियो ।

कमेन्ट गर्नुहोस्