बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा १२ वर्षीय बालक सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा ४ वर्षीय बालिकाको बलात्कार गरि हत्या गरेको आरोपमा पर्सा प्रहरीले १२ वर्षीय बालक सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर १६ का १८ वर्षीय सलमान खान, १८ वर्षीय फैजुल्लाह अन्सारी र १२ वर्षीय बालक रहेका छन् ।

उक्त घटनामा संलग्न भई फरार भएका फैजुल्लाहलाई भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट पक्राउ गरिएको थियो । गत श्रावण ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका हराएको भन्दै उनको हजुरबुवाले उजुरी दिएका थिए ।

उक्त उजुरीको आधारमा खोजी कार्य गर्दै जाँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित खाली जग्गाको झाडीमा हराइरहेकी उक्त वालिकाको मृत शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अनुसन्धानको क्रममा बालिका हत्यामा १२ वर्षीय वालकको संलग्नता रहेको भेटिएपछि अनुसन्धानको क्रममा बालकलाई सोधपुछ गर्दा अन्य ३ जनाको समेत संलग्नता रहेको खुलेको थियो ।

हराएकी वालिकालाई सामूहिक बलात्कार पश्चात् कर्तव्य गरी मारेको थप अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बस्नेतले बताए। मृतक वालिकाको शव पोष्टमार्टम पश्चात् अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

साथै, पक्राउ परेका आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्