कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पत्ति

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उनकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐनबहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसँगै चुँडिएको डोरी फेला परेको बताए ।

मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिए पनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताए।

घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्किएको जस्तो देखिएको र घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाइएको मल्लको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर कृष्णले आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तर, संघर्ष धेरै भएको देखिएकाले दुबैको हत्या भएको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शरीरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको अनुसन्धान गहिरिएर शुरु गरिएको डीएसपी मल्लले बताए ।

स्थानीयले चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका गरे पनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाइ छ ।

शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको र पोष्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या के हो ? सो बारे पत्ता लाग्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्