करणी मुद्दामा पक्राउ परे एमालेनिकट खेलकुद महासंघ विज्ञ आयोगका सचिव र केन्द्रीय सदस्य

विराटनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ विज्ञ आयोगका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको इटहरीकी १९ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै जनाले युवतीलाई जबर्जस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् ।उनी विराटनगरका विभिन्न सामाजिक संघसंगठनमा आबद्ध छन् ।

सुवेदी भने विराटनगर अस्पतालको सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् । उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्