कोभिडको असरले खस्कियो नतिजा : बोर्ड अध्यक्ष शर्मा

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा केही माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको भए पनि नतिजामा सन्तोष नै मान्नुपर्ने बताएका छन्। परीक्षा बोर्डले लिएको २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी रहेको भएपनि अहिलेको परीक्षा खस्कियो नै भन्न नमिल्ने उनको भनाई छ ।

कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा असर परेकाले माथिल्लो तहको भन्दा तल्लो तहको जीपीए ल्याउनेको संख्या बढी भएको हुनसक्ने उनको दावी थियो । समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु, नियमित कक्षा सञ्चालन नहुनु जस्ता कुराले नतिजा केही खस्केको उनले बताए ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा अनुपस्थित भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४।५७ प्रतिशत हो। परीक्षामा ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ छ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा दिएका हुन्। कोरोना महामारीका कारण २०७६ र २०७७ सालको एसईई विद्यालयले पठाएको अंककै आधारमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो। विज्ञले अहिलेको नतिजा केही खस्केको भए पनि सन्तोषजनक रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्