बाइडेन र शी जिनपिङबीच आज वार्ता हुँदै

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार वार्ता हुँदैछ। चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

आज हुने वार्ता हप्तौंदेखिको योजनाबद्ध नियमित छलफल हो। पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो।

बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रूसको युद्धका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मंगलबार भने, ‘यस सम्बन्धमा हामीबीच यस्ता विषयहरू छन् जहाँ हामी सहयोग सम्भव छ भन्ने विश्वास गर्छौं। उदाहरणका लागि हामीलाई धेरै असर गर्ने जलवायु परिवर्तन साथै तनावका विषयहरू पनि छन्।’

कमेन्ट गर्नुहोस्