एसिया कप क्रिकेट श्रीलंकाको सट्टा यूएईमा हुने

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ ।

श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो ।

प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग सल्लाह गरेर नै यो निर्णय लिइएको एसीसीका अध्यक्ष जय साहले बताए ।

खेल यूएईमा हुने भए पनि आयोजक भने श्रीलंका क्रिकेट बोर्डसँग नै रहने छ ।

श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष साम्मी सिल्भाले चाहेर पनि श्रीलंकाली भूमिमा प्रतियोगिता गर्न नसकेको बताएका छन् ।

युएई क्रिकेट बोर्डका उपाध्यक्ष खलिद अल जरोनीले खेलस्थल उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेको बताएका छन् ।

एशिया कप क्रिकेटमा यूएईसहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

कमेन्ट गर्नुहोस्