कोभिड महामारी खतरा बढ्यो, यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने बताएका छन् । केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा बढेको बताउदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्नेमा उनको जोड छ ।

क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताए। स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे ।

उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

वीर अस्पतालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरूको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताए ।

कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले विरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताए ।

कमेन्ट गर्नुहोस्