राजनैतिक दलहरूले कार्यशैली नसुधारे दलीय व्यवस्था नै कमजोर हुन्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राजनैतिक दलहरूले आफ्नो कार्यशैली र व्यवहारमा सुधार नगरे अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामाथि नै खतरा आउन सक्ने बताएका छन्।

संसद् सचिवालयले आज काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले दिएको सन्देश बुझेर दलहरूले आफूलाई परिवर्तन गर्न नसके अहिलेको राजनैतिक व्यवस्था नै असफल हुने खतरा रहेको बताए ।

सभामुख सापकोटाले संविधानले कल्पना गरेको सबैको समान सहभागिताको मान्यतालाई व्यवहारमा लागु गर्न नसक्दा राजनैतिक दलहरूप्रति मतदाताको आकर्षण घट्दै गएको बताए।

राजनैतिक दलहरू कमजोर हुँदा दलीय व्यवस्था नै कमजोर हुने भन्दै सभामुख सापकोटाले महिलालगायत सबैको सहभागिता सुनिश्चित गरी मतदाताको विश्वास जित्न राजनैतिक दलहरूले ध्यान दिनुपर्ने बताए।

सभामुख सापकोटाले जनताको बलिदानबाट प्राप्त राजनैतिक परिवर्तनले जनताको जीवनमा के परिवर्तन ल्यायो र उनीहरूले के पाए भन्ने प्रश्नको जवाफ परिवर्तनको नेतृत्व गर्ने दलहरूले दिनुपर्ने बेला आएको समेत उल्लेख गरे ।

कार्यक्रममा उप–सभामुख पुष्पा भुषाल गौतमले महिलाहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाई समाजको पितृसत्तात्मक सोच र महिलाहरू कमजोर हुन्छन् मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्न राजनैतिक दलहरूले ध्यान दिनुपर्ने बताइन् ।

उपसभामुख भुषालले समानताको सिद्धान्तका आधारमा महिला सहभागिता सुनिश्चित हुनसके मात्रै संविधानले दिएको समानताको हकको सही अर्थमा कार्यान्वयन हुने बताइन् ।

यस्तै, पूर्व सभामुख ओनसरी घर्तीले महिला सहभागिता आरक्षण प्रणालीमा मात्रै सीमित रहँदा महिलाहरूको आत्मबल घट्दै जाने हुनाले प्रत्यक्ष निर्वाचन र खुल्ला प्रतिस्पर्धामा अवसर दिनुपर्ने बताइन्।

पूर्व सभामुख घर्तीले महिला सहभागिताका अहिले नै निर्वाचन प्रणालीमा कुनै परिवर्तन गर्न सम्भव नभएको हुनाले आ–आफ्नो राजनैतिक दलभित्र दबाब सिर्जना गरी प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारको सङ्ख्या बढाउनुपर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्