प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच आज भेटवार्ता

काठमाडौँ, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्चस्तरीय भेटघाट गर्दैछन् ।

बिहीबार काठमाडौं आइपुगेका छन् दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायकमन्त्री लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीन र अमेरिकाबीच तनाव चुलिन थालेपछि दुबै देशका उच्चस्तरीय व्यक्तित्वहरुले नेपाल भ्रमणलाई निरन्तरता दिएका छन् । लुका बारेमा भने नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

गत मंसिरमा समेत नेपाल आएका लुले त्यतिबेला शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए । लुले गत मंसिरमा नेपाल आउँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको थिएन । उनी उक्त भ्रमणका दौरान एमसीसी सम्झौतालाई अघि बढाउन नेपालको राजनीतिक र कूटनीतिक तहमा संवाद गरेर फर्केका थिए । नेपालले फागुन १५ मा सम्झौता अनुमोदन गरिसकेको छ ।

अहिले भने सरकारले अमेरिकी स्टेट प्रोग्राममा सहभागी नहुने बताएको बेला लुको भ्रमण महत्वपूर्ण मानिएको छ । सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका सम्बन्धमा दुवै पक्षलाई अनुकूल हुने गरी उपयुक्त समय खोजिएको नेपाल सरकार र अमेरिकी सरकारले जनाएका छन् । देउवाले गत असारमै अमेरिका जाने बताइए पनि हालसम्म भ्रमण टुंगो नलागेको विषयमा परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासले अनुकूल हुने मिति खोजिरहेको दाबी गरेका हुन् ।

अमेरिकाले देउवाको भ्रमणका लागि साढे ३ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो । साउन ४ को पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले अनुकूल मिति तय भइनसकेको बताएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीले पनि दुवै पक्षलाई अनुकूल हुने उपयुक्त समय पर्खिरहेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्