काठमाडौं : अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु तीन दिने भ्रमणका क्रममा नेपालमा छन्। उनले ३० वर्षअघि नेपाल भ्रमणको क्षणबारे स्मरण गरेका छन्। नेपालस्थित अमेरिकी दूतावासले साझा गरेको भिडियो सन्देशमा उनले सन् १९९३ मा आफू पहिलोपटक नेपाल आएको बताएका छन्।
३० वर्षअघि नेपाल आउँदा आफू एउटी युवतीसँग प्रेममा परेको उनले बताएका छन्। ‘झन्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ। म ती युवतीसँग प्रेममा परेँ, जो आज मेरी श्रीमती छन्। हामी विवाहित भएको लगभग २६ वर्ष भयो। हाम्रा दुई सु्न्दर सन्तान छन्,’ लुले भने।
उनले आफ्नो सन्तानको नाम दक्षिण एसियामा आफूहरुले विताएको समयबाट प्रेरित रहेको बताए। उनले आफ्नो बच्चाको नाम आलिया र किपलिङ राखेको बताए।
उनले आफूहरुको यात्रा दार्जलिङबाट सुरु भएको बताए। ‘हामीले हाम्रो यात्रा दार्जलिङबाट सुरु गरेका थियौं। मोटर रिक्सा चढेर हामी नेपालको बोर्डर पार गर्यौं,’ उनले भने।
उनले बोर्डरबाट बस चढेर नेपालको विभिन्न क्षेत्र घुमेको बताए। उनले जनकपुर, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं घुमेको बताए। ‘हामीलाई संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनुपरेको छ कि असाध्यै गर्मीका कारण हामीले अक्सर ती बसका छतमा बसेर यात्रा गरेका थियौं। हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौं,’ उनले भने।
उनले चितवन राष्ट्रिय निकुञ्जमा जिप चढेर घुमेको स्मरण गरे। ‘देख्दै डर लाग्दो अर्ना भैँसीलाई खोज्दै हामी घुमेका थियौं,’ उनले भने। उनले जनकपुर दिपावलीको बेला घुमेको र उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाउँदै गरेको दृश्य कहिल्यै नबिर्सिने बताए।
उनले काठमाडौं आएर पाटन क्षेत्रको अद्भूत सम्पदाहरु घुमेको बताए। ‘पाटन क्षेत्रमा घुम्दा विश्वकै सर्वोत्कृष्ट मध्येको केही खाना चाख्यौं। नेवारी परिकारको खोजीमा म सधैं हुन्छु,’ उनले भने।
उनले हिजो साँझ पनि आफूले गज्जबको भेज मम खाएको बताए। ‘नेपाल सधैं मेरो मुटुको नजिक रहने ठाउँ हो। किनकि म पहिलोपटक प्रेममा परेको यहीँ हो,’ उनले भने।
-annapurnapost बाट