अमेरिकाले भन्यो- एसपीपीमा नेपाल सरकारको निर्णयलाई पूर्णरूपमा स्वीकार गर्छौं

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरशीप कार्यक्रममा सहभागी नहुने नेपालको निर्णय अमेरिकालाई जानकारी नगराएको भन्दै प्रतिपक्ष एमालेले आवाज उठाइरहेको बेला अमेरिकाले भने नेपाल सरकारको जवाफ प्राप्त भएको बताएको छ ।

परराष्ट्र मन्त्री नारायण खडकाले समेत अमेरिकालाई नेपालको अडानबारे जानकारी गराइसकेको बताएका थिए । परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा एसपीपी अघि नबढाउने गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकालाई जानकारी गराइएको बताएका थिए।

उनले परराष्ट्र मन्त्रालयले श्रावण ९ गते यसबारे लिखित जानकारी पठाएको उल्लेख गरेका थिए।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रीले उक्त धारणा राखेको केही घण्टापछि हाल नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

खडकाको जवाफपछि काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीले नेपाल सरकारबाट यससम्बन्धमा जानकारी प्राप्त गरेको बताएका छन् ।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करले नेपाल सरकारले पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताए।

उनले भने, “हो, हामीले स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे नेपाल सरकारले पठाएको पत्र प्राप्त गरेका छौँ। हामी एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयलाई ग्रहण गर्दै पूर्ण रूपमा स्वीकार गर्छौँ।”

नेपाल सरकारले एसपीपीबारे पठाएकाे पत्रमा भनेको छ, ‘एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं ।’ पत्रमा नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ । ‘एसपीपी सम्बन्धमा हाम्रो सहकार्य हुँदैन तर विपद् व्यवस्थापनलगायत अन्य विषयमा नेपाललाई अमेरिकी सरकारको सहयोग चाहिन्छ र द्विपक्षीय रूपमा दुई देशका सेनाबीचको अभ्यास र सहयोग आदानप्रदान पनि जारी रहोस् भन्ने आग्रह गरेका छौं ।

कमेन्ट गर्नुहोस्