पञ्जाबका स्वास्थ्यमन्त्री चेतन सिंहले बाबा फरीद विश्वविद्यालय तथा स्वास्थ्य विज्ञानका कुलपति एवं परिष्ठ सर्जन डा. राजबहादुरलाई फोहोर बेडमा सुताएपछि ठूलो हंगामा मच्चिएको छ ।
अस्पताल निरिक्षणको बेला चर्मरोग डिपार्टमेन्टको बिरामी कक्षमा पुगेका मन्त्रीले त्यहाँ रहेका बेडहरुको निरिक्षण गर्दा असन्तुष्टि व्यक्त गरेका थिए ।
अस्पतालका बेड फोहोर हुनुमा अस्पताल प्रमुखको नाताले उपकुलपति जिम्मेवार हुने बताउँदै उनले एकचोटी त्यो बेडमा सुतेर हेर्न चेतावनी दिएका थिए ।
उपकुलपति राजबहादुरले भने यसमा आफ्नो हात नहुने बताएपनि मन्त्रीले प्रमुखका हैसियतले अस्पताललाई बिरामी मैत्री बनाउने जिम्मेवारी उपकुलपतिको भएको भनेका थिए ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार, अस्पतालका स्टाफ र बिरामीकै अगाडि मन्त्रीले ७२ वर्षीय उपकुलपतिलाई बेडमा सुत्न लगाएका थिए । यससम्बन्धी एउटा भिडियो पनि भाइरल भएको छ ।
द इण्डियन एक्सप्रेससँग कुरा गर्दै डा. राजबहादुरले आजसम्म १२, १३ अस्पतालमा काम गरेपनि यसप्रकारको अपमानको सामना कहिल्यै नगरेको प्रतिक्रिया दिएका छन् । यसले महान पेशालाई प्रभावित गर्ने र दुखदायी हुने उनले बताए । मन्त्रीले कडा व्यवहार देखाएपनि आफूले भने बिनम्रता देखाएको उनले भनेका छन् । ११सय बेड भएको अस्पतालमा सबै बेडको अवस्था खराब नभएको उनले बताए । साथै खराब प्रबन्धनका लागि अस्पतालको मेसु जिम्मेवार हुने समेत उनले बताए ।
यो घटनाको भारतीय मेडिकल एशोसिएसनले बिरोध गरेको छ । एक प्रतिष्ठित सर्जन, शोधकर्ता र ४५ वर्षदेखिको अनुभव सँगालेका उपकुलपतिमाथि मन्त्रीले अशिष्ट र अभद्र व्यवहार गरेको भन्दै एशोसिएसनले निन्दा गरेको छ । मन्त्रीले माफी माग्नुपर्ने एशोसिएयसनको माग छ ।