फाेहाेर भित्रका गिरोहले फाेहाेरमैला व्यवस्थापन गर्न दिएनन्- मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरमैलासँग सम्बन्धित केही गिरोहले फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् ।

आज शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबुको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । स्थानीय तहले नै अब फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो ।

उहाँले पर्यटन मन्त्रालयले मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताए । सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारकोबीचमा समन्वय आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर, सम्पदालाई सुन्दर र संरक्षित बनाउदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उहाँले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको भन्दै उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेकोमा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताउँदै उनले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्