कलाकर्मी थुम्केलीद्वारा लिखित ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ विमोचन

काठमाडौं । नेपाली परम्परागत चित्रकला सरल ढंगले बुझ्ने गरी तयार पारिएको पुस्तक बजारमा आएको छ । अग्रज कलाकारद्वय मानबहादुर दोङ, पूर्णप्रसाद ह्योजू र कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरे ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा शुक्रबार भएको कार्यक्रममा कुलपति कर्माचार्यले पुस्तकमा गहन र महत्वपूर्ण विषय उठाइएको बताए । उनले लेखक सम्बन्धित विधामा चिनिएका व्यक्तित्व रहेकाले पुस्तक निकै ज्ञानबद्र्धक र रोचक रहेको जिकिर गरे । उनले भने, ‘पुस्तकमा परम्परागत चित्रकलाका विधि र विधानका पक्षलाई समावेश गरिएको छ । जुन अध्ययनविना चित्र बनाउन सम्भव छैन । यस पुस्तकले अनुसन्धानकर्ता, चित्रकार, विद्यार्थी, कलापारखी सबैका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु ।’

प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको उक्त पुस्तकमाथि चर्चा गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलाक्षेत्रमा महत्वपूर्ण कृतिका आएको बताए । उनले भने, ‘यो नेपाली मौलिक परम्परागत कलालाई बुझ्न निकै उपयोगी रहेको छ । साथै यो ज्ञानबद्र्धक पुस्तक हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिष्ठानका सदस्य सचिव विपिन कुमार घिमिरेले नेपाली कलाको अध्ययन अनुसन्धान गर्ने जोकोहीका लागि यो यो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री हुने विचार व्यक्त गरे । प्रतिष्ठानले नेपाली कलाका बारेमा पछिल्लो समय खोज अनुसन्धान तथा प्रकाशनमा विशेष ध्यान दिएको बताउँदै उनले त्यसैका कडीका रुपमा ‘नेपाली परम्परागत चित्रकलाः शिल्पज्ञान’ पुस्तक प्रकाशन गरिएको जनाए ।

पुस्तक विमोचन समारोहका लेखक अग्रज कलाकार मानबहादुर दोङले नेपाली परम्परागत चित्रकलाको महत्व र त्यसको इतिहासका बारेमा चर्चा गरे । उनले परम्परागत चित्रकलाका बारेमा जानकारी दिँदै त्यसको शास्त्रीय ज्ञानका बारेमा बताए । उनले भने, ‘यो सुरुवात्का रुपमा आएको छ । यस पुस्तकले नेपाली कलालाई चिनाउने आशा लिन सकिन्छ ।’ अर्का लेखक तथा अग्रज कलाकार पूर्णप्रसाद ह्योजूले पुस्तकमा सबै विषयवस्तुको बिस्तृत व्याख्या–विवेचना गर्न नसकिए पनि उक्त विषयका बारेमा जानकारी राखिएको बताए । उनले भने, ‘पुस्तक जानकारीमूलक ढंगले आएको छ । नेपाली परम्परागत चित्रकला अध्ययन गर्नेका लागि यो पुस्तक उपयोगी हुने विश्वास लिएको छु ।’

कलालेखक तथा कलाकार देवेन्द्र थुम्केलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अध्ययन–अनुसन्धान र प्रकाशनको कार्यलाई पछिल्लो समय अगाडि बढाएको बताउँदै नेपाली परम्परागत तथा लोककलाले नेपालको पहिचान बचाउने धारणा व्यक्त गरे । उनले पुस्तकमा नेपाली परम्परागत चित्रकलाको ऐतिहासिक पक्षसँगै शिल्पज्ञानका विविध पाटालाई संक्षिप्त रुपमा चर्चा गरिएको बताए । उनले भने, ‘हामीलाई बचाउने चिज नै हाम्रा परम्परागत रुपमा विकास भएका मौलिक कला हुन् । यिनको विकास, संरक्षण र प्रवद्र्धनमा राज्यले काम गर्नु पर्दछ ।’

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समीक्षक पुस्तक विमोचन हुनुभन्दा अगाडिको पाठक भएको बताए । उनले सामान्यतः पुस्तकको पहिलो खण्डमा चित्रकलाको संक्षिप्तमा झलक आउने गरी लेखिएको सुनाए । उनले चार दशकभन्दा बढी समयसम्म कलामा समर्पित कलाकारले सिकेका कलाका विविध पाटासहित शिल्प पक्षलाई उल्लेख गरिएको बताए । समालोचक अधिकारीले भने, ‘पुस्तकले परम्परागत चित्र बनाउन चाहने कलाकारलाई सहज बाटो कोरिदिएको छ । पुस्तकले प्रारम्भिक ज्ञान नभएका व्यक्तिलाई समेत ज्ञान लिन र सीप सिक्न सहज हुनेछ ।’

प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले परम्परागत कलाकृति र विधिलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताए । उनले पुस्तकले कला सिक्ने चाहना भएका विद्यार्थी र कला शिक्षकलाई एकदमै सहज बनाउने जानकार दिए । उनले भने, ‘पुस्तकमा बुट्टा, विन्दु र रेखाका बारेमा व्याख्या र नमूना प्रस्तुत गरिएको छ । थाङ्का÷पौभाको बारेमा जान्न र सहजकर्ताको रुपमा कार्य गर्नेछ ।’ उनले नेपाली परम्परागत चित्र विदेशमा चर्चित भएता पनि देशभित्रै यसको महत्वको बारेमा थाहा नै नभएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्