भारतसँगको लज्जास्पद हारपछि मेघराज केसीले भने –गल्ती मेरो हो

काडमाडौं । भारतविरुद्धको लज्जास्पद हारमा नेपाली राष्ट्रिय यू–२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो गल्ती रहेको बताएका छन् ।

भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आइतबार नेपालले भारतसँग ८–० को दर्दनाक हार ब्यहोरेको हो ।

उक्त हारपछि सामाजिक संजाल फेसबुकबाट केसीले हारमा आफ्नो गल्ती रहेको बताएका छन् । उनले खेलाडी र एन्फालाई दोष नदिन समेत आग्रह गरेका छन् ।

‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनलाई धन्यवाद । खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुस्खी छौं’, उनले लेखेका छन्, ‘खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो ।’

यस्तै केसीले आफ्नो फाईदाका लागि फुटबललाई डुबाउन नसक्ने बताएका छन् । उनले अबको खेलमा राम्रो गर्न नसके राजीनामा दिने पनि जनाएका छन् ।

‘मेरो फाइदाका लागि म फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ उनले अगाडी लेखेका छन्, ‘अब रोकभरिका लागि दुई दिनको समय छ । यदि भएन भने म छाड्ने छु । फुटबलबाट अलग हुनेछु ।’

अब नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ ।

फाइनल पुग्न नेपालले बंगलादेशलाई हराएर मात्र पुग्दैन । भारतले माल्दिभ्ससँग हार वा अंक बाड्नु पर्नेछ ।

कमेन्ट गर्नुहोस्