अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ ।

वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (सोमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण सोही सडक खण्डको घुमाउने नजिकैको क्षेत्रका पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान करिब ७ बजेदेखि सडक दुई तर्फी रुपमा सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो । सडक सुचारु भएपछि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको प्रहरीले जनाइको छ ।

 

कमेन्ट गर्नुहोस्