भरतपुर महानगरमा जैविक फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने प्रविधिको परिक्षण सुरु

भरतपुर । भरतपुर महानगरपालिकाले जैविक फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने प्रविधिको परिक्षण सुरु गरेको छ । घरको फोहर घरमै व्यवस्थापन गर्ने प्लान्टबारे भरतपुर महानगरपालिकामा आज प्रस्तुतीकरण गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयका प्रा.डा. भिमप्रसाद श्रेष्ठले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई यो पद्धतीका बारेमा र यसको कामका बारेमा जानकारी गराए।

ईजरायली जैविक फोहर व्यवस्थापन पद्धती अनुसार निर्माण गरिएको प्लान्टबाट घरमा उत्पादन भएको फोहरलाई घरमै सहजै व्यवस्थापन गर्न सकिन्छ ।
यो प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुने भएकाले चक्रिय प्रणाली अनुसार यसबाट फाईदा लिन सकिने डा. श्रेष्ठले जानकारी दिए। भान्छाको फोहरबाट निस्किएको ग्याँसबाट भान्छामै खान पकाउन सकिने, कम्पोष्ट मल निस्किने र प्लाष्टिकजन्य फोहर वर्गिकरणमा समस्या नहुने उनको भनाई छ ।

यो प्लान्टको एक महिने परिक्षणका लागि महानगर परिसरमा यसको प्रयोग सुरु गरिएको हो । अबको २२ दिनपछि प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुन सुरु हुन्छ । मिथेन ग्याँस निर्माण गर्न गोबर वा कुखुराको सुली पनि प्रयोग गर्नु पर्ने डा. श्रेष्ठले जानकारी दिए ।

जैविक फोहोरलाई फोहोर होइन त्यसलाई मोहोर बनाउन सकिन्छ कि भनेर यो प्रविधिको परिक्षण गरिएको मेयर दाहालले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्