सोलार प्यानलबाट समेत २२ मेगावाट थपियो राष्ट्रिय प्रसारण लाइनमा

नुवाकोट — सोलार प्यानल आयोजनाबाट समेत साढे २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार प्यानल आयोजनाबाट उत्पादित बिजुली हालै ग्रिडमा थपिएको हो ।

नुवाकोट विदुर नगरपालिका–१२ स्थित कफी एरिया २ मा राखिएको २२ मेगावाट क्षमताको सोलार प्यानलबाट बिजुली उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित बिजुली देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिएको छ ।

२५ मेगावाट क्षमताको आयोजनामा साढे दुई मेगावाटको काम जारी छ । त्यसमध्ये साढे २२ मेगावाट ग्रिडमा जोडिएको सोलार आयोजनाका प्रमुख विकास रघुवंशीले जनाए । सन् २०१७ बाट सुरु भएको आयोजना कोभिडअघि र पछि पनि पटकपटक म्याद थपिएर निर्माण पूरा हुने अवस्थामा पुगेको रघुवंशीले बताए । आयोजनाका ७ वटा साइट छन् । ६ वटा साइटबाट बिजुली सञ्चालन भएको आयोजनाले जनाएको छ । फोरवे, स्टाफ क्वाटर, केराघारी, रातोमाटे, कफी एरिया १, कफी एरिया २ र मान्द्रेढुंगामा रहेको हेलिप्याड क्षेत्रबाट दिउँसोमा बिजुली उत्पादन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्