चीनको समर्थनमा पाकिस्तान, पेलोसीकाे भ्रमणलगत्तै जारी गर्यो विज्ञप्ती

इस्लामाबाद । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले चर्को आपत्ती व्यक्त गरिरहेको बेला पाकिस्तानले भने चीनको समर्थन गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पाकिस्तान एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । संसारमा एउटा मात्रै चीन रहेको बताउँदै पाकिस्तानले अमेरिकाले ताइवानको साटो चीनसँग सम्बन्ध राख्नपर्ने बताएको हो ।

विज्ञप्तीमा पाकिस्तानले दृढतापूर्वक चीनको सार्वभौमसत्ता र भौगौलिक अखण्डताको सम्मान गर्ने जनाएको छ । अमेरिकाको यो कदमले विश्वमा फेरी अर्को अशान्ति र संकट निम्तिने पाकिस्तानले बताएको छ ।

अहिले पनि युक्रेन विवादका कारण विश्व जटिल सुरक्षा अवस्थामा पुगेको बताउँदै पाकिस्तानले विश्वले अर्को संकट झेल्न नसक्ने बताएको छ । पाकिस्तानले राष्ट्रराज्यहरुबीच आपसी सम्मानमा आधारित हस्तक्षेपरहित शान्तिपुर्ण सम्बन्ध स्थापित गर्न चाहेको वक्तव्यमा स्पष्ट छ ।

कमेन्ट गर्नुहोस्