नेपाल एक चीन सिद्धान्तमा दृढतापूर्वक उभिने राजदूत यान्छीको विश्वास

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छन्।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’ को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी हुन्।

चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत यान्छीले दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेर समर्थन गरेको बताएकी छन् ।

राजदूत यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरिन् । पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको राजदूत यान्छीको भनाइ थियो ।

यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्ने उनको ठहर छ । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने दावी गरेकी छन् ।

कमेन्ट गर्नुहोस्