प्रशिक्षक विहीन नेपाली क्रिकेट टोली,प्रशिक्षकको खोजीमा क्यान

काठमाडौं । दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षक विहीन बन्न पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) मा प्रशिक्षकको खोजी भैरहेको छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास खेल नै अन्योलमा छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि शुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ ।

राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले सात महिनापछि राजीनामा दिए। उनको राजीनामा सँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहीन छ ।

नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षको कार्यकाल पनि अस्थिर हुन थालेको हो । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाईको पु¥याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक क्यानले नियुक्त गरेको थियो । तर, पुबुदुमाथिको भरोसा उनको राजीनामा सँगै सकियो । टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । टोलीको प्रदर्शन ठिक उल्टो हुँदै गयो ।

विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धि निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट–उपगुट भएको सङ्केत छोडेका छन् । पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले बताए ।

क्यानले विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले जानकारी दिए । प्रशिक्षक नियुक्तिका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको मल्लले बताए । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्