नेपालसँग ऊर्जा सहकार्य गर्न इच्छुक छौं : हसिना

 

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत् खरिदसहित ऊर्जा व्यापारमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् । यसका लागि नेपाल, भारत र बंगलादेशबीच सम्बन्धित तहमा छलफल गर्नेसमेत उनको आश्वासन छ । बंगलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिसम्बद्ध सांसदसँग शुक्रबार गणभवनस्थित निवासमा भएको भेटवार्तामा हसिनाले ऊर्जा क्षेत्रमा नेपाल, भारत र बंगलादेशबीच सहकार्य गर्नुपर्ने बताएकी हुन् । विशेष गरी ऊर्जा सहकार्यका लागि भारतसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ ।

नेपालमा ऊर्जा उत्पादन बढी भएको र बंगलादेशमा ऊर्जाको माग बढिरहेको भन्दै प्रधानमन्त्री हसिनाले सहकार्यमा जोड दिएकी हुन् । नेपालको विद्युत् भारत हुँदै बंगलादेश लैजानुपर्ने अवस्थामा बंगलादेशका प्रधानन्त्रीले भारतसँग कुराकानी गरेर यसमा त्रिपक्षीय सहकार्य गर्नुपर्ने ढंगको कुरा गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसद डा.दीपकप्रकाश भट्टले बताए । नेपालमा बिजुली सरप्लसमा जाने अवस्था रहेको, बंगलादेशमा पूर्वाधारलगायतका क्षेत्रमा भएको विकाससँगै विद्युत् वा ऊर्जाको माग बढिरहेको अवस्थामा नेपालसँग सहकार्य गर्ने इच्छा बंगलादेशले राखेको हो ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि भारतले पनि समर्थन गर्दै आएको छ । जानकारको भनाइमा भारतले प्रसारण लाइन निर्माण गरिदिएर वा प्रसारण लाइन बनाउन सहजीकरण गरिदिएर सहयोग गर्न सक्छ । ढाकास्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री हसिनाले व्यापार, ऊर्जा, पर्यटन, शिक्षा र जनस्तरीय सम्पर्कमा जोड दिनुपर्ने बताएकी थिइन् । उनले बिबिआइएन ९बंगलादेश, भुटान, भारत, नेपाल उपक्षेत्रीय ढाँचामा कनेक्टिभिटी विस्तारमा जोड दिएकी थिइन् ।

बंगलादेशको प्रधानमन्त्री कार्यालयअन्तर्गतको प्रेस विङ्सद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री हसिनाले चटगाउँ र मोङ्ग्ला बन्दरगाह उपयोग गरेर फाइदा लिन भनेकी थिइन् । बंगलादेशले सइदपुर विमानस्थल निर्माण गरिरहेको उल्लेख गर्दै नेपाललगायत छिमेकी मुलुकले पनि विमानस्थल प्रयोग गर्न सक्ने बताइन् । बंगलादेशका प्रधानमन्त्री हसिनाले ऊर्जाबाहेक पर्यटन, यातायात कनेक्टिभिटीमा सहकार्य गर्नुपर्नेमा जोड दिएको भट्टले बताए । उनले नेपालजस्तो सुन्दर देशमा बंगलादेशबाट पर्यटकको संख्या वृद्धि हुने विश्वास जनाएकी थिइन् । संसदीय टोली १८ साउनमा बंगलादेश गएर शनिबार साँझ फर्केको छ । भ्रमण टोलीमा सांसदहरू पवित्रा निरौला खरेल, डा. दीपकप्रकाश भट्ट, चाँदतारा कुमारी, देवप्रसाद तिमल्सिना, लीलादेवी सिटौला, नारदमुनी राना, सरलाकुमारी यादव थिए ।

भट्टका अनुसार बंगलादेशको स्वतन्त्रतामा नेपाल सरकार, नेपाली नेताहरूले दिएको योगदान भुल्न नसकिने हसिनाको भनाइ थियो । उनले पछिल्लोपटक दुई देशका राष्ट्रपतिहरूको भ्रमण भएको उल्लेख गर्दै राजनीतिक भ्रमणको आदानप्रदान हुनुपर्नेमा जोड दिएकी थिइन् । बंगलादेशबाट परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा कुराकानी भइरहेको कूटनीतिक अधिकारीहरूको भनाइ छ । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्