१० नम्बरमा दल दर्ता भएको एमालेले कति सीट ल्याउला ?

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, नेकपा एमालेले दल दर्ता गरेको छ ।

निर्वाचन आयोगमा आज बिहान पुगेका एमाले नेताहरुले दिएको दर्ताको निवेदन अनसार, नेकपा (एमाले)लाई १० नं. क्रमसूचिमा दल दर्ता गरेको हो ।

निर्वाचन आयोगमा दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ ।

यसअघि आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । त्यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भएका थिए ।

संसद पुनस्र्थापनापछि राष्ट्रिय राजनीतिमा एक्लिएको एमालेले अहिले भने महागठबन्धनको सामना गर्नुपर्ने देखिएको छ । स्थानीय निकायको समीक्षापछि व्यवहारिकरुपमा सबै तहमा तालमेल गर्न गठबन्धनमा रहेका दलहरुबीच सहमति जुटेपछि एमालेले आगामी निर्वाचनमा झनै ठूलो अवरोध झेल्नपर्ने देखिएको हो ।

योसँगै सत्तारुढ गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टीले समेत सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने भएपछि एमाले एक्लै चुनावी मैदानमा उत्रिनपर्ने अवस्था आएको छ ।

एमालेका लागि यो परिस्थिति त्यति सहज हुने भने देखिँदैन ।

तालमेल नहुने अवस्थामा एमाले कति सीटमा सीमित होला भन्ने अड्कलबाजी पनि यतिखेर हुन थालेको छ । नेकपा एमालेले दश नम्बरमा दल दर्ता गरेपछि उसले प्रत्यक्षतर्फ दश सीट कटाउला त ? भन्ने टिप्पणी समेत केहीले गरेका छन् । यद्यपी एमालेले भने यो अवस्थामा समेत बहमत ल्याउने दाबी गरेको छ । तर व्यवहारिकरुपमा भने एमालेको चाहना र बस्तुगत यथार्थबीच ठूलो विरोधाभाष देखिन्छ ।

कमेन्ट गर्नुहोस्