कीर्तिपुरमा एक घरबाट २९ तोला सुनका गरगहना चोरी

काठमाडौंको कीर्तिपुरमा एक घरबाट झन्डै २९ तोला सुनका गरगहना चोरी भएको छ।

मंगलबार बिहान सवा ३ बजे कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित एक घरमा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

घरमा बुढाबुढी मात्रै बस्थे। साढे २ तले घरमा पहिलो तलाको मूल ढोका फुटाएर ५-७ जना केटाहरू प्रवेश गरेको सूचना प्रहरीले पाएको थियो। उनीहरूले घर भित्र गएर विभिन्न गरगहना, हिरा, नगद चोरी गरी फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

छोराछोरी विदेशमा रहेकाे र घरमा ७० वर्षमाथिका तीन जना वृद्ध-वृद्धाहरू मात्रै बस्ने गरेकाे प्रहरीले जनाएकाे छ ।

राति चोरी भएपछि ती वृद्धहरूले छिमेकीलाई गुहारेका थिए। घटना भएको डेढ घन्टापछि कीर्तिपुर प्रहरीलाई खबर भएको थियो।

प्रहरी उपरीक्षक मैनालीका अनुसार घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको प्रहरीले जनाएको छ।

दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्