फुटपाथका व्यापारी हुन कि नर्भिक, नियम सबैलाई बराबरी लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नियम सबैलाई बराबर लाग्ने बताएका छन् । उनले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए । नक्सा विपरित जग्गा मिचेको भन्दै मिचेको जग्गाको संरचना २४ घण्टा भित्र हटाउन आग्रह गरेको थियो ।

मेयर बालेनले अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए । अस्पताललाई मन्त्रिपरिषद्‍ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने मेयर शाहको भनाई थियो ।

आज महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको छ ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमतिसँगै तत्काल संरचना नभत्काउने भएको हो । उनले प्राविधिहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताए ।

अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

अस्पतालले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताएको छ । अस्पताल र सरकाबीच सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको अस्पताल स्रोतले बतायो।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

कमेन्ट गर्नुहोस्