‘नेपाल बन्छ, जब नेपालमै बनाइन्छ सफ्टवेयर’ : चिरञ्जीवि

चिरञ्जीवी अधिकारी
देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरू चलाइन्छ। सार्वजनिक फोरमहरूमा आन्तरिक उत्पादनका विषयहरू जोडतोडले उठ्छन्। आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं। विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ। तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन।

अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ। धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन्। एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पटाउँछन्। यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरूको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ।

हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशि बाहिर जानबाट जोगाउन सक्नेछौं। नेपाल बनाउनका लागि नेपालमै वस्तुहरू बनाउनुपर्छ। नेपाल बनाउनका लागि एउटा महत्त्वपूर्ण क्षेत्र हो, प्रविधि। हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं। नेपाली आईटी विज्ञहरू एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरूको भर पर्नुपर्ने बाध्यता छ।

सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरू प्रशस्त छन्। नेपालमा साँच्चिकै ध्यान दिने हो भने आईटी हब बनाउन सकिन्छ। तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरूले खासै ध्यान दिएका छैनन्। नेपालीहरूको स्कील र नलेज बाहिर गएको छ। नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरूले राम्रा राम्रा सफ्टवेयर बनाएका छन्। नेपालीले बनाएका सफ्टवेयरहरू नै विदेशी कम्पनीहरू मार्फत नेपाल भित्रिएका प्रशस्तै उदाहरणहरू छन्।

हामीले विदेशी कम्पनीहरूको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रशस्त अवसरहरू सिर्जना हुनेछन्। उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ। अहिले हामीले हाम्रा आइटी विज्ञहरूलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं। स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट ९विज्ञ० हरू बिदेसिनु पर्ने बाध्यता छ।

स्वदेशी सफ्टवेयर कम्पनीहरूलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन। ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं। अहिले हामी सगरमाथा र बुद्धको जन्म देश भनेर चिनाउछौं। सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ। आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ। हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ।

के गर्ने त अब ?

नेपालमा सफ्टवेयर बनाउन सकिन्छ। नेपालमा नेपाली कम्पनीहरूले नै बनाएका सफ्टवेयरहरू प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ। यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ। नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ।

जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस्। जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनुपर्छ। यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ। केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नुपर्छ।

यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ। आईटी उद्यमी बन्न चाहनेहरूका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ।

(लेखक अधिकारी क्यान अध्यक्षका प्रत्याशी हुन्)

कमेन्ट गर्नुहोस्