कुलमानको कमाण्डमा प्राधिकरणले गर्यो १६ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको खुद नाफा १६ अर्ब ९ करोड पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले उक्त नाफा देखाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६४ प्रतिशतले बढी हो । प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।
प्राधिकरणको आम्दानी भने एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । यससँगै प्राधिकरण सबैभन्दा बढी नाफा र आम्दानी गर्ने सार्वजनिक संस्था बनेको छ ।

‘पछिल्लो समय विद्युत् खपत र विद्युत् निर्यात बढेको छ । साथै, प्राधिकरणको स्वामित्वका आयोजनाबाट हुने विद्युत् उत्पादन पनि करिब १६ प्रतिशतले वृद्धि भयो,’ घिसिङ भन्छन् , ‘यसका अलावा विद्युत् चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’

आव ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा छ ।

कमेन्ट गर्नुहोस्