गोरखामा कांग्रेस र माओवादीबीच समझदारी, बाबुराम पनि गठबन्धनमा आए समस्या हुने कांग्रेसको धारणा

गोरखा, गोरखामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आगामी निर्वाचनमा उम्मेदवारीबारे समझदारी जुटेको छ ।

यद्यपी नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने गोरखाको क्षेत्र नं. २ सिट बाँडफाँटका हिसाबले धेरै समस्याग्रस्त रहेको बताएका छन् ।

बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै पाण्डेले सो क्षेत्र शीर्ष नेताहरुको क्षेत्र भएकाले गठबन्धन दलबीच सो क्षेत्र बाँडफाँटमा समस्या भएको बताएका हुन्। माओवादी र कांग्रेस मात्र गठबन्धन गर्ने र दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्ये एकवटामा भागबण्डा गर्नेबारे आन्तरिक समझदारी बनेको उनले बताए ।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र आफ्नो क्षेत्र भएकाले जटिल समस्या उत्पन्न हुनको जिकिर छ ।

‘बाबुराम भट्टराईले आफ्नो पार्टीलाई पनि गठबन्धनभित्र समेट्न लबिङ गरिरहनु भएको छ । गठबन्धनभित्र समेटिएको खण्डमा उहाँको चाहना पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने हुनसक्छ,ु पाण्डेले भने, ‘नारायणकाजी श्रेष्ठजीको पनि राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभामा चुनाव लड्ने चर्चा चलिरहेको छ । नेपाली कांग्रेसले पनि गठबन्धनका नाउँमा सधै अरु पार्टीलाई सो क्षेत्र छाडिरहेकाले यसपटक छाड्न नहुने जनदबाब छ ।’

‘दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्य कांग्रेस र माओवादीले एक–एकवटा लिने, चारवटा प्रदेशसभाको क्षेत्रमध्ये दुईदुईवटा लिने भन्ने अनौपचारिक छलफलका क्रममा समझदारी भएको छ,’ उनले भने,’क्षेत्र नं १ बाट माओवादीका उम्मेदवार उठाउने र क्षेत्र नं. २ कांग्रेसका उम्मेदवार उठाउने भन्ने अनौपचारिक कुराकानी अघि बढिरहेको छ ।’

यसअघि कांग्रेससँग तालमेल गरेर चुनाव लडेका बाबुराम भट्टराईले चुनाव जितेकै भोलिपल्ट कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भनेर भाषण गरेपछि कार्यकर्ता रुष्ट बनेको नेता पाण्डेको आरोप छ । नारायणकाजी श्रेष्ठ पनि अहिले राष्ट्रिय सभा सांसद भएकाले चारवर्षे अवधि छाडेर प्रतिनिधिसभा चुनावमा आउन उचित नहुने तर्क पाण्डेको छ ।

‘२०७४ को चुनावमा कांग्रेसको भोटले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई हराएर चुनाव जितेको भोलिपल्टै भाषणमा कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेर भाषण गरेपछि बाबुराम भट्टराईसित कांग्रेस यति कुँडिएका छन् कि, हामीले सम्झाएर कोही पनि सम्झिनेवाला कोही छैनन्’ उनले भने, ‘अनि नारायणकाजी श्रेष्ठजी, प्रतिनिधिसभामा चुनाब हारेर फेरि राष्ट्रिय सभा सदस्य बन्नुभयो । अहिले फेरि राष्ट्रिय सभा छाडेर प्रतिनिधि सभामा आउने हल्ला बाहिर फिँजाइरहनु भएको छ । यसले नयाँ पुस्तालाई राजनीतिप्रति घृणा पैदा गर्छ । अहिले स्वतन्त्र समूहले राजनीतिक दलप्रति यसैपनि वितृष्णा जगाउने प्रयत्न गरिरहेका छन् । यस्तो अबस्थामा शीर्ष नेताहरुले चाहे भने जे पनि गर्न सक्छन् भन्ने नमूना प्रदर्शन गर्नुहुँदैन । हामी पार्टीका कार्यकर्ता र सर्वसाधारण मतदातालाई यस्ता कुरामा सम्हाल्नै सक्दैनौँ ।’

कमेन्ट गर्नुहोस्