प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता, आज नै कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ।

आज बिहान भएको छलफलमा आसन्न निर्वाचन तथा समाजवादी मोर्चाका विषयमा कुराकानी भएको जनाइएको छ ।

उक्त अवसरमा आगामी निर्वाचनमा तालमेल, गठबन्धनमा समाजवादी पार्टी सहभागी हुने विषय र समाजवादी मोर्चाका बारेमा छलफल भएको बताइन्छ ।

गोरखाको निर्वाचन क्षेत्र नं. २ मा बाबुराम भट्टराईले उम्मेदवारी दिने मनस्थिति बनाएको सन्दर्भममा आजको भेटलाई उनले त्यहाँका लागि तालमेल खोजेको अर्थमा समेत केहीले टिप्पणी गरेका छन् । उक्त क्षेत्र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समेत गृह क्षेत्र हो ।

नेता भट्टराईले चुनावी तालमेल र सत्तारुढ गठबन्धनमा आफूहरु सहभागी हुने विषयमा समेत आफ्नो मत राखेको बताइन्छ । समाजवादी मोर्चाका विषयमा भने अन्य दलहरुसँग समेत छलफल गरेर साझा धारणामा पुग्न सकिने अध्यक्ष प्रचण्डले बताएको सार्वजनिक भएको छ । बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन्। उनले केही दिनअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

आजै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दैछ। बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको छ।

यसअघि गोरखा कांग्रेसका नेताहरुले आज बिहानै एक पत्रकार सम्मेलन गर्दै बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी समेत चुनावी तालमेलमा आए गोरखा क्षेत्र नं. २ मा समस्या हुने बताएका थिए ।

कमेन्ट गर्नुहोस्