पेट्रोलियम ढुवानी व्यवसायीद्वारा फेरि आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

गत वर्षको साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेका हुन्।

ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आएपनि निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

बढेको इन्धनको मूल्यअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्षदेखि नै आन्दोलन गर्दै आएका छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्