गठबन्धनले युवाहरूलाई उमेदवार नबनाए संघर्ष गर्छौंं : क्रान्तिकारी उपाध्यक्ष मैनाली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले गठबन्धनका युवाहरूलाई अघि सार्नुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारी काठमाडौं फरेस्ट्री कलेजको आठौं एकाइ सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारी उपाध्यक्ष मैनालीले गठबन्धनले युवा नेतालाई चुनावी मैदानमा उतार्नुपर्ने बताए ।

उनले युवाहरूलाई चुनावी प्रचारमा मात्र नखटाउन नेतृत्वसँग आग्रह गरे।

‘गठबन्धनका नाममा कपाल फुलेका र ७० कटेकालाई फेरी चुनावमा नउठाइयोस् । हामी विद्यार्थी संगठनहरूले यसको लागि दबाब दिन्छौँ,’उनले प्रश्न गरे, ‘पार्टीभित्र संघर्ष गरेका युवाहरूको पङ्क्ति ठुलो छ। के ती युवाहरू अवसर नपाइ बुढो हुनपर्ने हो ?’

नेता छान्ने सवालमा समाजको ‘साइकोलोजी’ नयाँ ठाउँमा पुगेको तर पुराना दलहरूको उमेदवार उठाउने शैली भने पुरानै रहेको भन्दै मैनालीले माओवादीभित्र पनि युवा विद्यार्धीका पूर्वनेताहरूलाई विशेष प्राथमिकतामा राखिनुपर्ने बताए ।

नेविसंघ र अखिलले पनि आ–आफ्ना पार्टी हेडक्वार्टरमा दबाब बढाउन समेत उनले आग्रह गरे ।

अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले पार्टी र गठबन्धनका उमेदवारको पक्षमा माहोल बनाउनुपर्ने उनको भनाइ थियो ।

अखिल(क्रान्तिकारी)ले पछिल्लो दुई महिना यता मुलुकभर विद्यार्थीसँग अखिल(क्रान्तिकारी)अभियान सञ्चालन गरिरहेको छ ।

सम्मेलनले टेम्बा गुरुङको नेतृत्वमा ४५ सदस्यीय कमिटी निर्वाचित गरेको अखिल(क्रान्तिकारी) नेता मिनेस धितालले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्