बिजुलीमा आत्मनिर्भरता बढ्यो, गतवर्षभन्दा आधाले घट्यो आयात, ३ अर्बको विद्युत निर्यात

काठमाडौँ — स्वदेशमा उत्पादित बिजुलीले माग धान्न नसकेपछि भारतबाट आयात गर्नुपर्ने अवस्था परिवर्तन हुन थालेको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले गत वर्षभन्दा आधा भन्दा कम मात्रामा विद्युत आयात गरेको छ ।

स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै गएको हाे । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको बिजुली किनेको थियो । त्यो रकम गत आर्थिक वर्ष करिब आधाले घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ मा बिजुली आयात ११ अर्ब ५८ करोड २० लाख रुपैयाँमा सीमित देखिन्छ ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालको विद्युत व्यापार घाटा उल्लेखरुपमा घटेको छ । कुनैबेला १८ घण्टासम्म लोडसेडिंगको मार भोगेको नेपालले छोटो समयमा नै विद्युतमा आत्मनिर्भर हुनेगरी विकास गरेको हो ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकामा गत आर्थिक वर्ष ०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । गत वर्ष विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांक हेर्दा अहिले नेपालको कुल विद्युत् जडित क्षमता २२ सय मेगावाट बराबर छ । हालसम्मको विद्युत् पिक डिमान्ड १ हजार ७ सय ४७ मेगावाट बराबर छ । अर्थात् नेपालले बिजुली खपत गरेको हालसम्मको सबैभन्दा उच्चतम बिन्दु १७ सय ४७ मेगावाट बराबर हो ।

कमेन्ट गर्नुहोस्