युनियनका सचिव भण्डारीलाई प्रहरी अधिकारीले दिएको धम्कीप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रेस युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई समाचार प्रकाशित गरेको विषयमा दरवारमार्ग वृत्त काठमाडौंका प्रहरी अधिकारीले धम्की दिएको भन्दै उक्त घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयमा असहमति जनाउँदै सम्बन्धित प्रहरी अधिकारी कानुनी प्रक्रियामा अघि बढिसकेपछि पनि धम्की दिनु निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्ती मार्फत जनाएका छन् ।

युनियनले यस्ता कार्य रोक्न सम्बन्धित अधिकारीलाई आग्रह समेत गरेको छ ।

युनियनले भनेको छ –’समाचारमा चित्त नबुझे त्यस उपर कानुनी कारबाहीका लागि प्रेस काउन्सिल वा अदालत जान सक्ने कानुनी व्यवस्था छ । समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी फौजदारी मुद्दा चलाउन पाइँदैन ।’

प्रहरी अधिकारी होस् वा पत्रकार सबै आफ्नो पदीय मर्यादामा बस्नुपर्छ भन्नेमा युनियन प्रष्ट रहेको बताएको छ । समाचार प्रकाशित गर्दा पत्रकार आचारसंहिता पूर्ण पालना गर्न, कसैको व्यक्तिगत चरित्र हत्या गर्ने प्रकारका सञ्चार सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रेस युनियन यसै विज्ञप्ति मार्फत् सबै सदस्य र पत्रकारहरुलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्