स्वास्थ्यलाभको कामनाले भरियो सामाजिक सञ्जाल , स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका समाजवादी चिन्तक प्रदीप गिरिलाई स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जाल भरिएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै स्वास्थ्यलाभको कामनाले सामाजिक सञ्जाल भरिएको हो ।

अधिकांशले नेपाली राजनीतिक शिखर व्यक्तित्व, निष्टावान राजनीतिज्ञ, महात्मा गान्धीका वास्तविक अनुयायी, सबै राजनीतिक दर्शनवेत्ताका रूपमा गिरिलाई गिरिको चर्चा गर्दै स्वास्थ्यमा चमत्कारिक सुधारको कामना गरेका छन् ।

विसंगतिपूर्ण वर्तमान राजनीतिलाई संग्लो बनाउन गिरिको अझै क्रियाशीलता आवश्यक रहेको भन्दै कयौँले प्रार्थना गरेका छन् ।
गिरिलाई भेटेर फर्किएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन् । ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं,’ उनले लेखेका छन् ।

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विराट चेतना र संघर्षशील ऊर्जाको भण्डार भएका गिरिले आफ्नो सोच र विश्वासलाई बदलिदिएको र सही मार्ग देखाइदिएको उल्लेख गर्दै उस्तै प्रेरणापुञ्जको रूपमा पाइरहने, देखिरहने र सुनिरहने अवस्थाको कामना गरेका छन् ।

नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उनको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्