प्रचण्डसँग राजदुतहरुले भने – नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी छौं

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्ड सहित अमेरिका, वेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (२०७९ भाद्र ४ गते) बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राजदुतहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए ।

भेटमा राजदुतहरुको प्रतिनिधिमण्डले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सकारात्मक सहयोग र सद्भाव रहने बताए । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको भन्दै उनीहरुले नेपालको यो शान्ति प्रक्रिया विश्वलाई पाठ भएको बताए । भेटको क्रममा उनीहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो समेत राखेका थिए ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा राजदुतहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि आभार व्यक्त गरे ।

विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनसिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्