राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुन्छ- रेनु दाहाल

चितवन, भदौ ७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुने बताउनु भएको छ । पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको समुद्धाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धनको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गर्नुभयो ।
नारायणी तटबन्धको काम ४ वटा प्याकेजमा ठेक्का भई काम सुरु भएकाले अब राप्ती नदी नियन्त्रणको लागि महानगरपालिका अगाडि बढेको मेयर दाहालको भनाई छ । राप्ती नदी नियन्त्रणको काम भएपछि पश्चिम चितवनका नागरिकको ४० औँ वर्षदेखि समधान हुन नसकेको समस्या समधान हुने उहाँको तर्क थियो ।
‘पश्चिम चितवन भरतपुरको विकास केन्द्र बनेको छ,उहाँले भन्नुभयो,‘विकासको मोडल हेर्न भरतपुर आउने क्रम बढेको छ । विकासको कामलाई चुस्त बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’
मेयर दाहालले संघले साना–ठूला निर्माणको काम गरेर गुणस्तरीय सेवा प्रवाह गरेको बताउदै संघलाई महानगरपालिकाले आवश्यक सहयो गर्ने बताउनुभयो ।
प्रमुख दाहालले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने परिपाटीको विकास गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । महानगरले विगत ५ वर्षमा व्यवस्थित र ठूला सडक सञ्जाल निर्माणमा गरी चमत्कारिक फड्को मारेको उहाँको भनाई थियो । पश्चिम चितवनको कृषि क्षेत्रमा अधुनिकीकरण गर्न विभिन्न अनुदानको कार्यक्रमका साथै सिंचाईका लागि सयौँको संख्यामा स्यालो टियुवेल तथा डिप बोरिङ वितरण गरिएको जानकारी दिनुभयो ।
प्रमुख दाहालले सिंचाईको प्रयोग गरी सुख्खा जमिनमा १२ महिना खेती गर्न सक्ने बनाइएकाले अधिकतम उत्पादन वृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा न २५ का अध्यक्ष छविलाल सापकोटाले व्यवसायीक संघले पश्चिम चितवन क्षेत्रमा उत्कृष्ठ काम गरी यस क्षेत्रका उपभोक्ताहरूको मन जित्न सफल भएको बताउनुभयो । संघलाई वडा कार्यालयको तर्फबाट स्वरोजगार व्यावसायीहरूको क्षमता विस्तारमा सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष धनिराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्