कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्