बुबा–आमा नपाल्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने

काठमाडौं । बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकको पालन पोषण र हेरचाह नगरी अलपत्र पारेमा उनीहरुले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न नपाउने भएका छन् ।सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा ल्याएसँगै उक्त प्रावधान कार्यान्वयन हुने भएको हो ।

यस ऐन अनुसार बुबा–आमा तथा जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ । त्यस अवस्थामा जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले उनीहरुको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ । यो सम्पत्ति निज जेष्ठ नागरिकको हक र हितमा परिचालन गर्नेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै यो ऐन कार्यान्वयनमा आएको हो ।

ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना जेष्ठ नागरिकको पालना नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परेमा स्थानीय तह मातहत रहने न्यायिक समितिले जेष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा पालना पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्ने गरी व्यवस्था बनेको छ । यसअघि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा यस्तो प्रावधान थिएन ।

अब जेष्ठ नागरिक स्वयमःले मात्र नभई टोल छिमेकमा कुनै जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा छिमेकीले समेत स्थानीय तहमा उजुरी दिन सक्ने भएका छन् ।

त्यसैगरी सरकारले जेष्ठ नागरिकको खातामा पैसा पठाउन आदेश दिने अधिकार समेत स्थानीय तहलाई दिएको छ । कुनै पनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएको देखिएमा स्थानीय तहले सन्तान वा नजिकको हकवालाबाट मासिक रकम सम्बन्धित जेष्ठ नागरिकको खातामा पठाउन आदेश दिन सक्ने भएको छ । तर, तोकिए अनुसारको आम्दानी सन्तानको पनि नभएको पाइएमा भने जेष्ठ नागरिकको आधारभूत आवश्यकता अब स्थानीय तहले पुरा गरिदिनु पर्ने गरी कानून बनेको छ । यो प्रक्रिया जारी रहुन्जेल जेष्ठ नागरिकको हेरचाहका लागि स्थानीय तहले उनीहरुकै खातामा सन्तानबाट एकमुष्ट रकम समेत राख्न आदेश दिन सक्ने नयाँ ऐनमा उल्लेख छ ।

यस्तो रकम बाबुआमासँगै बसेका वा कानून अनुसार छुट्टै बसेका सन्तानले समेत नियमित जम्मा गर्नुपर्ने भएको छ । बुबा आमासँगै बसेको अवस्थामा जेष्ठ नागरिकको संयुक्ता खातामा र बुबा आमा भिन्नै बसेका भए आफुले पालन पोषण गर्ने बुबा वा आमाको खातामा रकम जम्मा गर्नुपर्छ । तर, नियमित पारिश्रमिक पाइरहेका, स्वरोजगार, निवृत्तिभरण तथा अन्य आय भएका जेष्ठ नागरिकको खातामा भने सन्तानले अनिवार्य रकम राख्नु पर्ने छैन ।रकम जम्मा गरेको विवरण वार्षिक स्थानीय तहमा बुझाउनु पर्ने छ ।

कमेन्ट गर्नुहोस्