चिनियाँ प्रतिनिधि मण्डलको भक्तपुर भ्रमण (तस्बिरहरू)

भक्तपुर । चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्।

चार दिने नेपालको औपचारिक भ्रमणमा रहेका लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुअघि भक्तपुरमा भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए। बुधबारदेखिनै राजनीतिक भेटघाटमा व्यस्त रहे।

भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। अध्यक्ष ली भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो। सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो।

मङ्गलबार नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो।

मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो ।

अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

हेर्नुहोस् भक्तपुर भ्रमणका केही तस्बिरहरू

(सबै तस्बिरः रत्न श्रेष्ठःरासस)

कमेन्ट गर्नुहोस्