डेंगी संक्रमितको संख्या १९ हजार नाघ्यो, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । असारयता डेंगी तीव्र रूपमा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

चिकित्सकको सल्लाहबिना औषधि खान नहुने विज्ञहरू बताउँछन् । “कतिपय अवस्थामा डेंगी परीक्षण गराउने र चिकित्सकको सिफारिसबिना औषधि खाने गर्नाले बिरामी सिकिस्त भएका घटना पनि छन् । त्यसैले यदि आफूलाई गाह्रो हुने खालका लक्षण देखिए तुरुन्तै अस्पताल आउन र परामर्श लिन बिरामीलाई अनुरोध छ,” कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। रामहरि चापागाइँले भने ।

डेंगी संक्रमितमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुन सुझाव दिन्छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने चिकित्सक बताउँछन् ।

कमेन्ट गर्नुहोस्