राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपचार खोज्ने तयारीमा गठबन्धन दलहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसविरुद्ध कानुनी उपचार खोज्ने तयारीमा सत्तारुढ गठबन्धनले छलफल सुरु गरेको छ ।

हिजो बसेको गठबन्धनको बैठकमा कानुनविद्हरूले सत्ता गठबन्धनलाई राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जान सुझाव दिएका छन् ।

जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि यसविरुद्ध कानुनी उपचार खोज्न सकिने उनीहरुले बताएका हुन ।

प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको छलफलमा राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह नगरेको भन्दै कानुनविद्हरूले यस्तो सुझाव दिएका हुन् ।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिले संसद्बाट विधेयक पारित गरेर पठाएपछि एकपटकको हकमा पुनर्विचार गर्नसक्ने भए पनि दोस्रोपटक त्यो सुविधा छैन ।

हिजोको बैठकमा सत्तारुढ गठबन्धनका दलहरुले राष्ट्रपतिको कदमबारे व्यापक छलफल गरेका थिए । छलफलमा संविधानविद् तथा कानुनविदहरुसँग समेत छलफल गरिएको थियो ।

उक्त छलफलमा संविधानविद्हरू र कानुनविद्हरूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कार्य भएको बताएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘संविधानविद् र कानुनविद्हरूले आफ्ना सुझाव दिनुभयो। समग्रमा संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक कार्य गर्नुभयो भन्ने निष्कर्ष निस्कियो। यो कुरालाई सबैले मनन गर्नुपर्छ,’ उनले भने।

उनले राष्ट्रपतिको कदमबारे छलफल गरी कुनै एक बाटोमा जाने पनि बताएका छन्। ‘हामी छलफल गर्दैछौं, संविधानविद् र कानुनविद्हरूसँग सल्लाह गरेर एउटा बाटोमा जान्छौं।’

छलफलमा सहभागी एक कानुनविदले बताएअनुसार संविधानको व्यवस्थाअनुसार संसदबाट पारित विधेयक पहिलो पटक सन्देश सहित राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने भए पनि दोस्रो पटक भने प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नगरेकोबारे कुराकानी भएको थियो।

अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरन्जन सिंहले राष्ट्रपतिको कदमविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ । रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा परामर्श गरेर मात्र अघि बढ्ने सर्वोच्चले जनाएको छ ।

कमेन्ट गर्नुहोस्