युरोपेली प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदै

काठमाडौँ । युरोपेली संसद्को प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छ ।

युरोपेली संसद्का उपाध्यक्ष एभलिन रेङ्गनरको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जारी गरेको प्रेस विज्ञप्तिमा यस भ्रमणले नेपाल र युरोपेली संघ बीचको सम्बन्धलाई थप सुमधुर बनाउनका साथै आगामी दिनमा सहकार्यलाई थप उचाइमा पु¥याउने बाटो खोज्नमा योगदान पु¥याउने छ ।

भ्रमणमा रहेका प्रतिनिधिमण्डललाई नयाँ संविधान जारी भएदेखि कार्यान्वयनमा आएको संघीय लोकतन्त्र कार्यान्वयनबारे नेपालको अनुभवबारे अवगत गराइने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा उनीहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली र नेपाली काँग्रेसका नेता गगनकुमार थापासँग भेटवार्ता गर्ने छन ।

यसैगरी प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा.नारायण खड्का, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग पनि छुट्टाछुट्टै भेट गर्नेछन।

बसाइका क्रममा सांसदहरुले महिला राजनीतिज्ञ, नागरिक समाजका अगुवा र पत्रकारहरूसँग लोकतन्त्र, जलवायु परिवर्तन र सामाजिक समावेशीकरणका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्