गैरसरकारी संस्थालाई समाजप्रति उत्तरदायी बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन।

४३ औँ सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौंमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा मात्रै दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने विचार व्यक्त गरे।

यस अवसरमा उनले सामाजिक सङ्घसंस्थालाई जनमुखी र पारदर्शी बनाइ कार्य गर्न पनि आग्रह गरे ।

नेपालका दूरदराजमा समेत गैरसरकारी संस्थाले कल्याणकारी काम गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले मुलुकको समृद्धि र विकासमा सरकार गैरसरकारी संस्थासँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपालमा सञ्चालित विभिन्न सामाजिक संस्थाहरूको अनुगमन र मूल्यांकनलाई थप प्रभावकारी बनाइ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

यस अवसरमा प्रधानमन्त्री देउवाले समाज कल्याण परिषद्को सम्पूर्ण कार्यलाई अनलाइन प्रविधिमा लैजाने डिजिटल पोर्टलको शुभारम्भ गरे ।

कार्यक्रममा समाज कल्याण परिषद्मा २५ वर्ष सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्