सभामुख र उपसभामुख पद खालि गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमडौं । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खालि गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले परमादेशको माग गर्दै रिट दायर गरेका हुन्।

रिटमा बिहीबार सुनवाइका लागि पेशी तोकिएको छ।

संविधानको धारा ९१ (६) (क) को मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खालि हुनु पर्ने निवेदकको माग छ।

यसअघि असोज १ गतेबाट सांसदको भने कार्यकाल सकिएको छ। समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल सकिने निर्वाचन आयोगले जनाएको छ।

दलहरुले समानुपातिक सांसदका लागि बन्द सूची बुझाइसकेकाले सभामुख र उपसभामुखको पद कायम राख्नु संविधान विपरित हुने उनीहरुको दाबी छ। यसरी पदमा कायम रहँदा श्रोत साधानको चरम दुरुपयोग हुने भन्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म सेवासुविधामा समेत रोक लगाउन माग गरिएको छ।

‘निवेदनको अन्तिम किनारा नहुन्जेलसम्म सभामुख र उपसभामुखबाट राज्यको स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको दुरुपयोग नहोस् भन्ने अभिप्रायले निजहरुलाई सो पदमा रहे वापत राज्यबाट प्राप्त हुने सेवा सुविधा प्रयोग गर्नबाट रोक लगाउनु भनि विपक्षीको नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ’, निवेदनमा माग गरिएको छ।

कमेन्ट गर्नुहोस्