नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं । साताको अन्तिम करोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक र करोबार रकम दुवै घटेको छ । चार कारोबार दिन घटेको नेप्से बुधबार ११.२० अंक वृद्धि भएकोमा आज ९.८४ अंक घटेको हो । गत कारोबार दिनको तुलनामा ०.५३ प्रतिशत घटेर नेप्से १८३८.९६ विन्दुमा कायम भएको छ ।

त्यस्तै, ६५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ७२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ६ करोड ५५ लाख रुपैयाँ घटेर कारोबार भएको हो । कारोबारमा आएका २२९ धितोपत्रको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

गत कारोबार दिन सर्वाधिक सेयर मूल्य भएको साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य नै आज पनि सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत वृद्धि भएर ५३१.१० कायम भएको छ । त्यस्तै, आज तीन वटा ऋणपत्रको मूल्य भने सर्वाधिक घटेको छ । सर्वाधिक मूल्य घटेनेमा १० प्रतिशत प्रभु बैंक डिभेञ्चर २०८४, गरिमा डिभेञ्चर, २०८५ र सेन्चुरी डिभञ्चर २०८८ को मूल्य बढी घटेको छ ।

१० प्रतिशत प्रभु बैंक डिभेञ्चर २०८४ को मूल्य ९.९३ प्रतिशत घटेर ९.८ रुपैयाँ कायम भएको छ । त्यसैगरी गरिमा डिभेञ्चर २०८५ को ९.९० घटेर ९०१ रुपैयाँ कायम भएको छ भने सेञ्चुरी डिभेञ्चर २०८८ को मूल्य ५.८६ प्रतिशत घटेर ९४१ रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक मूल्यको सेयर खदिर–बिक्री नबिल बैंकको भएको छ । यो बैंकको दुई करोड ५८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । दोस्रोमा बोटलर्स नेपाल (तराई) लिमिटेडको दुई करोड ४१ लाख रुपैयाँको सेयर खदिर–बिक्री भएको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा वृत्त समूह रहेको छ । यो समूहको परिसूचक १.५६ प्रतिशत घटेर १५१६.७२ विन्दु कायम भएको छ ।

कमेन्ट गर्नुहोस्