चोलेन्द्र स्वाभाविक देखिनुभएको छैन : सभामुख सापकोटा

काठमाडौं । कान्तिपुर टिभी ‘टफ टल्क’को ‘र्‍यापिड फायर’मा सभामुख अग्निप्रसाद सापकोटा र उक्त टिभीका सम्पादक दिलभुसन पाठकबीचको रोचक संवादः

दिलभुसन पाठकः कोसँग बढी बिश्वास छ, शिक्षक कि राजनीतिज्ञ?

सभामुख सापकोटाः शिक्षक।

पाठकः राजनीतिमा परिवर्तन शान्तिपूर्ण कि सशस्त्र ?

सापकोटाः अन्तिमसम्म शान्तिपूर्ण ढङ्गले प्रयत्न गर्नुपर्छ र सशस्त्र दमन भयोभने त्यसको प्रतिरोध गर्नुपर्छ।

पाठकः पार्टी नेतृत्वको प्राथमिकता कार्यकर्ता कि आम नागरिक ?

सापकोटाः त्यसको द्वन्द्वात्मक सम्बन्ध छ।

पाठकः चुनावी प्रतिस्पर्धा गठन्धन भएर कि एक्लाएक्लै?

सापकोटाः त्यो परिस्थितिले निर्धारण गर्ने कुरा हो। स्वस्थ प्रतिस्पर्धा नै राम्रो कुरा हो।

पाठकः सदनमा कस्को भूमिका जटिल, सत्तापक्ष कि प्रतिपक्ष ?

सापकोटाः कसले लोकतान्त्रिक मुल्यमान्यताको आत्मसात गर्छ, त्यसबाट अलि जटिलताको सिर्जना हुँदैन। त्यो आत्मसात नगर्नेबाट अलि जटिलता सिर्जना हुन्छ।

पाठकः चुनाव लड्नुभयो र जितेर आउनुभयो भने अर्को कार्यकालमा के बन्नुहुन्छरु सभामुख, मन्त्री कि प्रधानमन्त्री ?

सापकोटाः रियल भन्छु, त्यतातिर मैंले सोचेको छैन।

पाठकः तपाईं तत्कालीन नेकपाबाट सभामुख भएको ब्यक्ति, अब एमालेसँग एकता सम्भव छ कि छैन ?

सापकोटाः हैन, असम्भव भन्ने कुरा त के छ र? सम्भव हुनसक्छ। तर समय लाग्ला।

पाठकः एकजना रोज्नुपरे तपाईं कसलाई रोज्नुहुन्छ, केपी शर्मा ओली कि माधवकुमार नेपाल ?

सापकोटाः यो कुरा म सभामुखको जिम्मेवारीबाट हटेपछि भनौंला।

पाठकः एक शब्दमा, राष्ट्रपति विद्यादेवी भण्डारी ?

सापकोटाः वर्तमानमा उहाँ सम्माननीय राष्ट्रपति हुनुहुन्छ।

पाठकः होइन, त्यो पदभन्दा बाहेक ?

सापकोटाःपदभन्दा बाहेकको कुरा गर्ने हो भने त मेरो उहाँसँग राम्रै सम्वन्ध छ। लामो अन्तरक्रिया हुन्छ।

पाठकः एक शब्दमा प्रधानमन्त्री शेरबहादुर देउवा?

सापकोटाः सभामुख र प्रधानमन्त्री हैसियतले कुरा हुँदा उहाँले हुँदैन भनेको केही छैन। धेरै सोचिसम्झी गरेको पनि केही छैन। ठिक छ, हुन्छ भन्ने नै छ।

पाठकः पुष्पकमल दाहाल, एक शब्दमा ?

सापकोटाः उहाँसँगको मेरो सम्बन्ध त ०३७ सालदेखिकै हो?

पाठकः टिप्पणी गर्नु न एक शब्दमा ?

सापकोटाः डायनामिक लिडर।

पाठकः डा. बाबुराम भट्टराई ?

सापकोटाः अध्ययशील।

पाठकः केपी शर्मा ओली ?

सापकोटाः योजना निर्माणमा अलि कुशल।

पाठकः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा ?

सापकोटाः स्वाभाविक देखिनुभएको छैन।

पाठकः एमसीसी पारित हुनु सहि कि गलत ?

सापकोटाः यसलाई बिकासनिर्माणमै सीमित राखेर कार्यान्वयन हुँदा आवश्यकै कुरा हो।

कमेन्ट गर्नुहोस्