समायोजित सेनाको मागप्रति सकारात्मक छु : प्रचण्ड

चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्। अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलापछि पत्रकारसँग उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।

प्रचण्ड भने, ‘उहाँहरूको मुख्य माग संगठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो। यसमा मैले संगठनमा बस्ने मिल्छ। निर्वाचन लड्न पनि मिल्छ भनेको छु।’ पूर्वसेनाको संगठनमा बसेरसमेत काम गर्न सक्ने उनको भनाइ थियो।

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए। तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्। पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका प्रचण्ड दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ।

अध्यक्ष प्रचण्डले आज माछा व्यवसायीसँगसमेत भेट गरेका छन्। नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उनले माछा व्यवसायीहरूको माग सम्बोधन गर्न राज्य लाग्ने बताए। उनले भने, ‘नीति निर्माणको काम सम्पन्न भएको छ। कार्यान्वयनमा नजाँदा समस्या आएको हो।’

माछा व्यवसायीले भन्सार छलि आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए। संघका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताए। –रासस

कमेन्ट गर्नुहोस्