अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् ।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

ट्रडो भ्रमणबारे अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तर्क्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ । उनले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्ने ?’ भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्नेछिन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्